सगुन साकोस आज भन्दा २२ वर्ष पहिले स्थानिय ५ महिला र २४ पुरुषहरुको सहकार्यबाट विधिवत् रुपमा संचालनमा आएको हो । प्रारम्भमा विषयवस्तुको पर्याप्त ज्ञानको कमी र श्रोत साधनको कमी भए पनि समाज र समुदाय प्रतिको गह्रुङ्गो दायित्व बोध भई दृढ अठोट, प्रवल इच्छा र उत्कट चाहनाका बाबजुत् संस्था विस्तारै बामे सर्न थाल्यो । हामीलाई अनुभुत छ त्यत्ति बेला सहकारी प्रति जनसमुदायको चेतनास्तर न्यून थियो । हाम्रो सिकाईस्तर पनि शुन्य थियो । तर पनि संस्था स्थापनाको उत्साहले हामीमा उर्जा थपिरह्यो । हामीले जे सुन्यौं, जे बुझ्यौं र जे जान्यौं त्यो गरिरह्याैँ केबल संस्था र सदस्यहरुको हित प्रति उत्तरदायी भई । हामीलाई सम्झना छ संस्थागत जीवनकालमा तमाम् खाले आर्थिक, सामाजिक र राजनीतिक आरोह अवरोह एवं उतारचढावहरु आए । फेरि पनि संस्थागत जीवन चक्र चलिरह्यो । फलस्वरुप २३ औं बर्षको पुवार्धमा अहिले संस्थाले दरो पाइला चाल्ने ऐतिहासिक जिम्मेवारी प्राप्त गरेकोछ । म अध्यक्षको हैसियतले यो गौरवपुर्ण घडिमा संस्थाको विकासमा अहोरात्र लागीरहने जीवनको उर्वरकाल समेत व्यतित गर्नु भएका संस्थापक लगायत अग्रज सहयात्रीहरुमा हार्दिक आदरभाव एवं आभार प्रकट गर्न चाहन्छु । यहाँहरुले गरेका कल्पना र देखेका सपनाहरु साकार पार्ने दिशातर्फ संस्था अग्रसर भईरहेको व्यहोरा अवगत गराउन चाहन्छु ।
संस्थाको यो २२ बर्षे यात्रा पछिको अवस्थामा हाम्रो संस्थाको पारिवारिक संख्यामा वृद्धि आएको छ । साविक बगनाहा गा.वि.स. वडा नं. १ मा सिमित कार्य क्षेत्र विस्तार भई ठाकुरबाबा न.पा., मधुवन न.पा. र बारबर्दिया न.पा.को केही वडाहरुमा फराकिलो विस्तार भएको छ । संस्थाको शेयरपुँजी रु.२,४१५।– बाट रु. ९३,३९,७००।– अनि संस्थागत पुँजी रु.८७।– बाट रु. ३७,७४,९६७।६८ अनि बचत रु. ४,२७६।– बाट रु.६,५२,७८,०६२।७३ र कुल सम्पत्तिमा रु. ७१४४।– बाट रु. ८,७९,९०,१२३।५३ वृद्धि भएको छ । संस्थाको उत्पादन र सेवामा समेत वृद्धि भई स्थानीय रुपमै सेवाहरु विस्तारित हुँदैछ । विप्रेषणमुखि अर्थतन्त्रमा समावेश भएको समुदायको लागि संस्थाले रेमिटान्स सेवा संचालनमा ल्याएको छ । सहकारी सिद्धान्त र मुल्यमान्यतामा आधारित संस्था संचालनका नयाँ नयाँ आयामहरु थपिँदै छन् । नीति, विधि र नविनतम् प्रविधिद्धारा सुशासन युक्त प्रणाली मार्फत संस्था संचालनका अभ्यासहरु भईरहेका छन् । सहकारी बजारमा पनि संस्थागत प्रतिस्पर्धाको मात्रामा वृद्धि भएको छ । सदस्यहरुको आवश्यकता र चाहनामा फेरबदल भई सेवाको विविधीकरणमा वृद्धि भएको छ । सदस्यहरुको आर्थिक स्थिति र उत्पादनशील जीवनशैलीमा परिवर्तन ल्याई बढि भन्दा बढि व्यवसायिक बनाउने आवश्यकता प्रबल रुपमा आएको छ । यसको लागि संस्थागत कार्यहरु पनि सदस्यहरुकै उद्यमशिलता विकास सित परिलक्षित हुनु पर्ने जरुरी भएको छ र समग्रमा सिंगो संस्थाको व्यवसायिक क्षमतामा पनि अभिवृद्धि ल्याई सामुदायमा आधारित सक्षम दिगो साकोसको रुपमा स्थापित गरी मुलुकको सहकारी अभियानलाई सार्थक र उच्च बनाउनु अपरिहार्य भएको छ ।
हाम्रो संस्था बचत तथा ऋणको कारोबार गर्ने वित्तिय सहकारी संस्था हो । वित्तिय क्षेत्र आफैमा जोखिम युक्त क्षेत्र हो । संस्था यहि जोखिमबाट सुरक्षित र स्वस्थ हुन सकेन भने संस्थागत सक्षमता र दिगोपनाको कल्पना पनि गर्न सकिदैन । यसै सन्दर्भलाई मनन् गरी संस्था गत बर्ष देखि सहकारी विभाग र नेफ्स्कुनद्धारा संचालित जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रममा सहभागी भएको छ । यस कार्यक्रमबाट संस्थामा हुन सक्ने संभावित जोखिमका क्षेत्रहरु संचालन जोखिम, रणनीतिक व्यवसायिक जोखिम, ऋणको जोखिम, वैधानिकता तथा सुशासनको जोखिम र समग्र वित्तिय क्षेत्रको जोखिमको नियमित मापन भई उल्लेखित क्षेत्रमा संस्था स्वस्थ र सुरक्षित हुँदै जाने निश्चित भएको छ । साथै समय क्रम अनुसार संस्थाको व्यवसायिक क्षमता वृद्धिका लागि यसै बर्ष देखि “सम्पुर्ण वित्तिय सेवा सहितको समुदायमा आधारित सक्षम दिगो साकोस” को परिकल्पना सहित चार बर्षे (आ.व.२०७६-०७७ देखि आ.व. २०७९-०८०) रणनैतिक व्यवसायिक योजना निर्माण गरिएको छ । उपरान्त योजनाबद्ध हिसाबले संस्थाका गतिविधिहरु अगाडि बढ्नेछन् । हामी आशातित् छौं । ती गतिविधिबाट संस्था र सदस्यहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउन कोशे ढुङगा सावित हुनेछ ।
अन्तमा, सहकारीका सात सिद्धान्त तथा आधार एवं नैतिक मुल्य हाम्रा मार्ग निर्देशक हुन् । यिनैका पालना गर्दै जीवनको आर्थिक, सामाजिक, सांस्कृतिक र वातावरणीय पक्षको उन्नतिमा सहकार्य गरौं । हामीमा सुनेर पनि नबुझेका, देखेर पनि नजानेका एवं जानेर पनि नगरेका केही छन् भने त्यसको लेखाजोखा गर्दै शुत्रबद्ध गरी नयाँ नयाँ अभ्यासहरुलाई आत्मासाथ गरी वित्तिय साक्षरता एवं वित्तिय परामर्श मार्फत सदस्यहरुमा उद्यमशिलताको वृद्धि गरी उत्पादनशील जीवनशैलीमा सुधार ल्याउन संस्थागत उत्पादन र सेवाको नवीनतम् खोज र प्रयोग गरौं । सहकारी सबै जातजाती, वर्ग, लिङग अनि क्षेत्रहरुको खुलामञ्च हो । यो मञ्चलाई व्यवस्थित र सुन्दर बनाउँ । सदस्य सक्रिय भए मात्र संस्था सुन्दर,सबल र दिगो हुनेछ ।
धन्यवाद !
जय सहकारी